
कलैया, बारा — बारा प्रहरीले ब्राउन सुगरजस्तो लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, वीरगन्ज (पर्सा) र प्रहरी चौकी, मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गर्दै यस, बारे जानकारी दिनुभएको हो।
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४, बलिरामपुरस्थित चेकपोस्टमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना १२ प ३७१६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो। मोटरसाइकलको अगाडिको भाइजरमा प्लास्टिकसहित ५.७८ ग्राम र प्लास्टिकबाहेक ४.५१ ग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले मोटरसाइकल चालक, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय विशाल सहनी र सोही मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय रोशन कुशवाहालाई पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय, प्रसौनीमार्फत थप अनुसन्धान भइरहेको सूचना अधिकारी घलेले जानकारी दिनुभएको छ।



