
बारा । नेपाल कमेडी च्याम्पियन सिजन–४ मा मधेस प्रदेशबाट सहभागी भएका बाराका सुभम सिंहलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै प्रशंसापत्र प्रदान गरिएको छ। सिंहको प्रतिभा, मेहनत र कलालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि महम्मद मुस्तफाले उनलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेका हुन्।
बारा निर्वाचन क्षेत्र नं. ३ (ख) अन्तर्गत फेटा गाउँपालिका–७, गमरहिया निवासी सुभम सिंहले नेपाल कमेडी च्याम्पियन सिजन–४ मा मधेस प्रदेशबाट आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। उनको सहभागिताले बारा जिल्लासहित मधेस प्रदेशको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्न सहयोग पुगेको भन्दै उनको प्रतिभाको कदर गरिएको हो।
कार्यक्रमका आयोजक तथा मधेस प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिरले सिंहको सफलताका लागि १ हजार १ सय भोट सहयोग गर्दै उनको उज्ज्वल भविष्यको कामना गरेका छन्। युवामा रहेको प्रतिभालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै सिंहको कलाको यात्राले आगामी दिनमा थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिभाशाली युवालाई सम्मान र प्रोत्साहन गर्दा उनीहरूमा थप आत्मविश्वास बढ्ने तथा आफ्नो क्षमता प्रदर्शन गर्न हौसला मिल्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा रहेका प्रतिभालाई राष्ट्रियस्तरमा स्थापित गर्न यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ।
सिंहलाई प्रदान गरिएको सम्मानले उनको कलाको यात्रामा थप ऊर्जा र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। साथै, बारा तथा मधेस प्रदेशका युवाले विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै प्रदेशको नाम उच्च राख्न सक्ने सन्देशसमेत यस कार्यक्रमले दिएको छ।



