
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित उनासी पुलमा बसले ईभी गाडीलाई पछाडिबाट ठक्कर दिँदा ईभी चालक घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते भएका हुन्।
प्रहरीका अनुसार काँकडभिट्टाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३६५ नम्बरको बस र त्यसै दिशातर्फ गइरहेको म.प्र.०४–००१ ज ०१६० नम्बरको ईभी गाडी उनासी पुलमा पुगेका थिए। सोही क्रममा अगाडिबाट अर्को सवारीसाधन आएको कारण ईभी गाडी सडकको साइडमा रोकिएको अवस्थामा पछाडिबाट आएको प्र.१–०१–००१ ख ४८६५ नम्बरको बसले ईभीलाई ठक्कर दिएको थियो।
पछाडिबाट बसले ठक्कर दिएपछि ईभी अगाडि रोकिएको बसमा समेत ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ईभी चालक मण्डलको ढाडमा चोट लागेको छ। उनको निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बा.प्र.०३–००१ ख १३६५ नम्बरको बसमा सामान्य क्षति पुगेको छ। उक्त बसका चालक झापाको मेचीनगर नगरपालिका–७ निवासी ३४ वर्षीय भरत निरौला सकुशल रहेका छन्। बसमा यात्रुहरू सवार रहेकाले आवश्यक नियन्त्रण तथा प्रक्रिया पूरा गरी उनीहरूलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, ईभीलाई ठक्कर दिने प्र.१–०१–००१ ख ४८६५ नम्बरको बस र त्यसका चालक झापाको कमल गाउँपालिका–६ निवासी करिब ४७ वर्षीय डम्बरकुमार ताजपुरिया सकुशल रहेका छन्। उक्त बस र चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले नियन्त्रणमा राखेको छ।
दुर्घटनापछि आवश्यक अनुसन्धान तथा व्यवस्थापनका लागि प्रहरी सहायक निरीक्षक राजेश्वर प्रसाद चौरसियाको कमान्डमा सात जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनाको कारण तथा घटनासम्बन्धी थप विवरणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



