
बारा – मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महमम्द समीरले प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनले शिक्षा, स्वास्थ्यसँगै कृषि तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा समेत योजनाबद्ध रूपमा विकासका कामलाई अगाडि बढाइएको बताए


उनले प्रदेशमा गुणस्तरीय शिक्षा विस्तार, स्वास्थ्य सेवामा नागरिकको पहुँच तथा कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताए। विकासका योजनाहरूलाई जनताको आवश्यकता र स्थानीय तहको मागअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता कपिलदेव कुशवाहाले गरेका थिए।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख राजीव कुमार यादव, वडा नम्बर १८ का वडाध्यक्ष ध्रुव यादव, ब्राह्मण समाज नेपालका जिल्ला अध्यक्ष अनिल कुमार पाण्डे, मन्त्रीका स्वकीय सचिव रुस्तम अन्सारी, नेपाल शिक्षक संघका अध्यक्ष राजकिशोर सहनी, शिक्षा प्रेमी मुकेश साह, गोपाल सेवा समाजका अध्यक्ष जम्बहादुर यादव, ब्राइटल्याण्ड स्कुलका संस्थापक रामाधार यादव लगायत विभिन्न विद्यालय तथा बोर्डिङ स्कुलका प्राध्यापक तथा शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी मनकामना कलेजका शिक्षक तथा शिक्षिकाहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले शिक्षा क्षेत्रको विकास, विद्यार्थीको क्षमता अभिवृद्धि तथा गुणस्तरीय शिक्षाका लागि विद्यालय तथा कलेजबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए। विद्यार्थीहरूले विभिन्न गतिविधिमार्फत अतिथिहरू तथा सहभागीहरूलाई स्वागत गर्दै शैक्षिक वातावरणलाई थप उत्साहपूर्ण बनाएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य कलेजका प्राध्यापक रामबाबु प्रसाद कुशवाहाले दिएका थिए। उनले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, शिक्षक, शिक्षिका, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै शैक्षिक संस्थाको उन्नति र विद्यार्थीको उज्ज्वल भविष्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रमको सञ्चालन कलेजका शिक्षक दिनेश यादवले गरेका थिए।
मन्त्री समीरले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक तथा सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीलाई समयअनुकूल ज्ञान, सीप र प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। उनले सक्षम, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले पनि स्थानीयस्तरमा शिक्षाको पहुँच विस्तारसँगै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास, दक्ष जनशक्ति व्यवस्थापन तथा विद्यार्थीको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
मन्त्री समीरले मधेस प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार, स्थानीय तह, शैक्षिक संस्था र नागरिक समाजबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै विकास निर्माणका कामलाई परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।



