
बारा, २०८३ असोज १६ गते – जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कारभित्र लुकाएर ल्याइएको १५५ किलो ६३५ ग्राम गाँजा सहित कार चालकलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ असोज १६ गते करिब ९ बजे को समय बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित भित्री सडकखण्डमा विशेष सूचनाका आधारमा प्रहरीले कार जाँच गरेको थियो।ईलाका प्रहरी कार्यालय सिमारा बाट खटिएको प्रहरीको टोलीले बा.१३ च. ४७३४ नम्बरको कार चेकजाँच गर्ने क्रममा कारभित्र रातो रङको प्लास्टिकले बेरी लुकाइछिपाइ ल्याइएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको जनाएको छ।
गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा, बाराको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ बस्ने २८ वर्षीय अमिर डिङडुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक एवम निमित्त सूचना अधिकारी राजा बाबु ठाकुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ।




