
रौतहट । विभिन्न ११ वटा मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बैंकिङ कसुरलगायत ११ वटा मुद्दामा रौतहट जिल्ला अदालतबाट ३ महिना १५ दिन कैद तथा ५६ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना तोकिएका गरुडा नगरपालिका–७ भिमडावर निवासी दयाराम प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो।
अदालतको फैसला कार्यान्वयनका लागि फरार रहेका साहलाई २०८३ असोज १३ गते जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका साहलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशअनुसार कैद भुक्तान तथा जरिवाना असुलीका लागि कारागार कार्यालय रौतहट, गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतबाट कैद तथा जरिवाना तोकिएर फरार रहेका अन्य प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई समेत निरन्तरता दिइने उल्लेख गरिएको छ।




