
कलैया, बारा । कलैया उपमहानगरपालिकाका एक होटलमा अवैध यौन गतिविधि सञ्चालन भइरहेको सूचनापछि प्रहरीले एक होटलमा छापा मारेर तीन महिलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बसपार्क प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक बिमलेश यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका–१४ स्थित एक होटलमा चेकजाँच गरेको थियो। सो क्रममा होटलबाट तीन जना महिला र दुई जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त होटलमा अवैध यौन गतिविधि भइरहेको भन्ने सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको थियो। नियन्त्रणमा लिइएका पाँचै जनामाथि घटनाको वास्तविकता तथा उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कलैयाका केहि होटल तथा लजहरूमा अवैध गतिविधि भइरहेको गुनासो आउने गरेको भन्दै प्रहरीले सूचना तथा उजुरीका आधारमा निगरानी र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ। यद्यपि, नियन्त्रणमा लिइएका व्यक्तिहरू दोषी प्रमाणित भइसकेका छैनन्। घटनाबारे प्रहरी अनुसन्धान तथा कानुनी प्रक्रियाबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ । घटनाको जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको छ ।



