राष्ट्रियसमाचारस्थानीय

पसलको जस्ता हटाएर चोरी गरेको आशंकामा १४ वर्षीय बालक प्रहरीको नियन्त्रणमा

बारा । बारा प्रहरीले चोरी घटनाको अनुसन्धानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका–७ पडा बजारबाट १४ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८३ असोज १५ गते राति करिब १ः३० बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी सहायक निरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले जीतपुरसिमरा–७ पडा बजारस्थित पूर्वपट्टिको सर्भिस लेनमा बकुलियाबाट जीतपुरतर्फ जाँदै गरेका जीतपुरसिमरा–६ निवासी १४ वर्षीय हसमुदिन अंसारीलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट रु.१७ हजार ३ सय नगद तथा चोरीमा प्रयोग भएको हुनसक्ने विभिन्न सामग्री फेला परेको जनाएको छ। प्रहरी स्रोतका अनुसार उनको साथबाट रु.५०० दरका ३ थान, रु.१०० दरका ९१ थान, रु.५० दरका ९० थान, रु.२० दरका ५९ थान, रु.१० दरका ८२ थान र रु.५ दरका ४४ थान नोट बरामद भएको छ। त्यस्तै, प्लास १ थान, रिन्च १ थान, मोबाइल चार्जरको टाउको १ थान, ब्लुटुथ १ थान र सिन्काको २ प्याकेट समेत फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार जीतपुरसिमरा–७ निवासी शम्भु साहले सञ्चालन गर्दै आएको ‘संगम कोल्ड ड्रिम्स’ पसलको जस्ताको छानो हटाई नगद तथा विभिन्न सामान चोरी भएको सूचना प्राप्त भएपछि घटनाको अनुसन्धान अघि बढाइएको थियो। पसलको करिब ८ फिट लम्बाइ र ३ फिट चौडाइको जस्ता हटाइएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ।

सोही घटनासँग सम्बन्धित रहेको आशंकामा हसमुदिनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जीतपुर, बाराले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button