राष्ट्रियसमाचारस्थानीय

मोटर जडान धाराबाट पानी खाने क्रममा करेन्ट लाग्दा २५ वर्षीय युवकको मृत्यु

बारा । बाराको पचरौता नगरपालिका–८ बाझोपटीमा मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका–८ बेतौनाका हकबुला देवनका छोरा अन्दाजी २५ वर्षीय राजु देवन रहेका छन्।
प्रहरीका अनुसार २०८३ असोज १० गते साँझ करिब ६ बजे पचरौता–८ बाझोपटीस्थित साथी दुर्गा प्रसाद यादवको घरमा मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा देवनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई दुर्गा प्रसाद यादवका भाइ बालेश्वर यादवले एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएका थिए।
अस्पतालमा चिकित्सकले ECG परीक्षण गर्दा साँझ ६ः४५ बजे देवनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट लंगडा चौकबाट प्रहरी सहायक निरीक्षक थिरबहादुर बस्नेतको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सबिनकुमार कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल मुचुल्कालगायत आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।

मृतकको शव प्रादेशिक अस्पताल कलैयाको शवगृहमा राखिएको थियो। पोस्टमार्टमपछि असोज ११ गते दिउँसो करिब १ः३० बजे मृतकका दाइ इजहारुल देवानले शव बुझी लगेको अस्पतालबाट दिउँसो २ः३० बजे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button