
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
शुक्रबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए।
दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–१ निवासी मेखबहादुर मगरका ३५ वर्षीय छोरा योगेन्द्र मगर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्काल उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएकोमा राति करिब ११ः५० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगन्ज बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्री तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक जितपुरसिमरा उपमहानगरपालिका–२१ निवासी करिब ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाएको प्रहरीले जनाएको छ।



