
बारा — बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य आरोपीसहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ करिब ५ः३० बजे जितपुरसिमरा–२ बस्ने ३५ वर्षीय शेरबहादुर खड्कालाई सोही उपमहानगरपालिका–१६ बस्ने २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो।
घाइते खड्कालाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएकोमा साँझ ६ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा SOCO सहितको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का लगायतका कार्य गरेको थियो।
घटनापछि फरार रहेका चक्कु प्रहारका मुख्य आरोपी आयुष राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमान्डमा खटिएको टोलीले राति करिब १० बजे जितपुरसिमरा उपमहानगरपालिका–१६ महेन्द्रनगरस्थित धानबारीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित शंकित अन्य पाँच जनालाई समेत नियन्त्रणमा लिएको छ। उनीहरूमाथि घटनाको कारण, संलग्नता तथा घटनामा अन्य व्यक्तिको भूमिका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाको विस्तृत कारण भने प्रहरीले अनुसन्धानपछी खुलाउने बताइएको छ।



