
प्रेमचन्द्र झा
असोज ०२ गते
रौतहट । छिमेकी मुलुक भारतको बैरगनियामा सञ्चालित एक निजी विद्यालयका विद्यार्थीहरूले नेपालमा भएको विपद्का पीडितका लागि राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
बैरगनियास्थित जे.एस. बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले आपसमा रकम संकलन गरी ४० हजार नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
विद्यालयका निर्देशक दीपंकर चौधरीले विद्यालयको आवेदनपत्रसहित रकम जम्मा गरेको बैंक भौचर जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेललाई हस्तान्तरण गरेका छन्।
नेपालको भोटेकोसी क्षेत्रमा भएको विनाशकारी घटनामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै निर्देशक चौधरीले पीडित परिवारप्रति श्रद्धाञ्जली तथा सहानुभूति व्यक्त गरे। विपद्का कारण कतिपय परिवारले आफन्त गुमाउनुका साथै घरबारसमेत गुमाउनुपरेको उल्लेख गर्दै उनले पीडितलाई सहयोग गर्न रकमको परिमाणभन्दा मानवीय भावना महत्वपूर्ण हुने बताए।
उनले भने, “पीडितलाई राहत जति भए पनि त्यसले उनीहरूको दुःख पूर्ण रूपमा मेटाउन नसक्ला, तर विपद्को समयमा देखाइने मानवता नै सबैभन्दा ठूलो राहत हो।”
विद्यार्थीहरूले आफ्नो व्यक्तिगत तथा पारिवारिक खर्चबाट समेत रकम बचत गरी राहतका लागि सहयोग गरेको विद्यालयले जनाएको छ। बालबालिकामा सानैदेखि मानवीय भावना, सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकप्रति सहयोगको भावना विकास गर्ने उद्देश्यले राहत रकम संकलन गरिएको विद्यालय पक्षको भनाइ छ।
भारतको सीमावर्ती क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरूले नेपालमा भएको विपद्का पीडितका लागि सहयोग गर्नुले सीमा वारपारको मानवीय सम्बन्ध र आपसी सद्भावलाई समेत प्रतिबिम्बित गरेको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले राहत रकम सहयोग गर्ने विद्यार्थी, विद्यालयका शिक्षक तथा व्यवस्थापन पक्षप्रति धन्यवाद व्यक्त गर्दै विपद्को समयमा गरिएको यस्तो मानवीय सहयोगले पीडितलाई मनोवैज्ञानिक रूपमा समेत हौसला प्रदान गर्ने बताए।



