
बारा – कलैया उपमहानगरपालिका–२३ भतौडा श्री रामजानकी मन्दिर परिसरमा आयोजित श्री महावीर झण्डा मेला अन्तर्गतको कुस्ती प्रतियोगिताको उद्घाटन गरिएको छ।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री माननीय मोहम्मद समीरले रिबन काटेर कुस्ती प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको मेलामा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै कुस्ती प्रतियोगिता समेत आयोजना गरिएको हो। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित मेलामा विभिन्न क्षेत्रका नागरिकको सहभागिता रहने आयोजकले जनाएको छ।
कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री समीरले यस्ता धार्मिक तथा सांस्कृतिक मेलाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक एकता र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कलैया उपमहानगरपालिका वडा नं. २३ को व्यवस्थापनमा भइरहेको मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन आयोजकले स्थानीयवासी तथा जिल्लावासीलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
मेलामा धार्मिक श्रद्धालु तथा दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कुस्ती प्रतियोगिताले मेलाको आकर्षण थप बढाएको आयोजकको भनाइ छ।



