
बारा । ई–रिक्साको अव्यवस्थित सञ्चालनका कारण व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै सम्पूर्ण यातायात व्यवसायी संघ, बाराले बुधबार कलैयास्थित भरत चोकमा विरोध प्रदर्शन गरेको छ।
ई–रिक्सा सञ्चालनमा नियमन र व्यवस्थापनको अभावका कारण आफूहरूको यातायात व्यवसाय संकटमा परेको व्यवसायीहरूको भनाइ छ। उनीहरूले ई–रिक्सा सञ्चालनलाई व्यवस्थित गर्नुपर्ने तथा तोकिएको क्षेत्रभन्दा बाहिर सञ्चालनमा रोक लगाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।
व्यवसायीहरूका अनुसार नगर क्षेत्रभित्र मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि ठूलो संख्यामा ई–रिक्सा दैनिक रूपमा कलैया–वीरगञ्ज सडकखण्डमा सञ्चालन भइरहेका छन्। यसले आफूहरूले सञ्चालन गर्दै आएका सार्वजनिक यातायातका साधनको व्यवसायमा प्रत्यक्ष असर पुर्याएको उनीहरूको गुनासो छ।
ई–रिक्साको अव्यवस्थित सञ्चालनका कारण यातायात व्यवसायीहरू आर्थिक रूपमा थप समस्यामा पर्दै गएको भन्दै उनीहरूले सम्बन्धित नियमनकारी निकायको ध्यानाकर्षण गराएका छन्। कानुनी व्यवस्था कार्यान्वयन गर्ने जिम्मेवारी पाएका निकायहरूले प्रभावकारी अनुगमन नगरेको र समस्या देख्दादेख्दै पनि मौन बसेको आरोपसमेत व्यवसायीहरूले लगाएका छन्।
प्रदर्शनमा सहभागी व्यवसायीहरूले ई–रिक्सा सञ्चालनसम्बन्धी विद्यमान कानुनी तथा स्थानीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न, तोकिएको क्षेत्रबाहिर सञ्चालन भइरहेका ई–रिक्सालाई तत्काल नियन्त्रण गर्न र यातायात क्षेत्रमा देखिएको अव्यवस्था अन्त्य गर्न माग गरेका छन्।
उनीहरूले आफ्ना मागप्रति सम्बन्धित निकाय गम्भीर नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्। यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन सबै प्रकारका सार्वजनिक सवारीसाधनको सञ्चालनलाई स्पष्ट मापदण्डका आधारमा नियमन गर्नुपर्ने व्यवसायीहरूको माग छ।



