राष्ट्रियसमाचारस्थानीय

सुरक्षा समिति बाराको सहयोगमा सिमराबाट हराएकी ११ वर्षीय नाबालिका वीरगन्जस्थित बालगृहबाट भए सुरक्षित उद्धार

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ सिदरिया टोलबाट हराएकी ११ वर्षीय नाबालिका सनाया खातुन वीरगन्जस्थित एक बालगृहमा सुरक्षित फेला परेकी छन्।

सिदरिया टोल निवासी गुलाब्सा खातुनकी छोरी सनाया खातुनले परिवारका सदस्यलाई जानकारी नदिई घरबाट निस्किएपछि परिवारले आफन्त तथा छरछिमेकमा खोजी गरेका थिए। लामो समयसम्म बालिका फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालय सिमरामा खोजतलासका लागि निवेदन दिएका थिए। प्रहरीका अनुसार बालिका हराएको सम्बन्धमा उनकी आमाले २०८३ साल भदौ ९ गते दिउँसो करिब १२ः१५ बजे इलाका प्रहरी कार्यालय सिमरामा बालिकाको फोटोसहितको हुलिया निवेदन दिएकी थिइन्।
निवेदन प्राप्त भएपछि तालुक जिल्ला प्रशासन कार्यालय बाराबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन गरिएको थियो। टोलीले बालिकाको घरमा पुगेर उनकी आमासँग भेटघाट तथा सोधपुछ गर्नुका साथै स्थानीय जनप्रतिनिधिसँग समेत समन्वय गरी खोजतलास अघि बढाएको थियो।

खोजीका क्रममा बालिका वीरगन्जस्थित एक बालगृहमा सुरक्षित रहेको जानकारी प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोली तथा बालिकाकी आमासहितको टोली उक्त बालगृहमा पुगेको थियो। बालगृहमा पुगेपछि बालिकासँग भेटघाट गर्दा उनी सकुशल र सुरक्षित अवस्थामा रहेको पाइएको प्रहरीले जनाएको छ। बालिका आफ्नै आमाको सहमतिमा उक्त बालगृहमा बस्दै आएको समेत खुलेको छ।

प्रहरीका अनुसार सनाया यसअघि पनि दुई पटक हराएको विवरण प्रहरीमा दर्ता भएको थियो। यसअघि फागुन महिनामा बालिका हराएको भन्दै हुलिया निवेदन परेपछि इलाका प्रहरी कार्यालय सिमराले खोजी गरी उनलाई फेला पारेको थियो। त्यस्तै, वैशाख महिनामा पनि बालिका हराएको भन्दै परिवारले खोजतलासका लागि निवेदन दिएका थिए। उक्त समयमा जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले बालिकालाई फेला पारी उनकी आमाको जिम्मा लगाएको थियो।

बाराका सुरक्षा निकायले बालिका पटक–पटक घरबाट बाहिरिने गरेको विषयलाई संवेदनशील रूपमा लिँदै परिवार, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित बालगृहसँग आवश्यक समन्वय र निगरानीलाई प्राथमिकता दिएको जनाएको छ।
बालिका सुरक्षित रूपमा फेला परेपछि उनको अवस्थाबारे परिवारलाई जानकारी गराउनुका साथै आवश्यक संरक्षण र समन्वयका विषयमा समेत सम्बन्धित निकायले चासो देखाएको छ।

सम्बन्धित निकायले नाबालबालिका हराउने अवस्था आउन नदिन अभिभावकले उनीहरूको गतिविधि, संगत तथा मानसिक अवस्थाबारे समयमै ध्यान दिनुपर्नेमा जोड दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button