
बारा – कलैया उपमहानगरपालिका–१ कट्टी पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिका बिन्दी कुमारी मण्डल करिब १२ घण्टापछि सकुशल फेला परेकी छन्।
मिति २०८३ भदौ ६ गते साँझ करिब ५ः३० बजे आफ्नै घरअगाडिबाट बालिका हराएकी भन्दै उनका हजुरबुबा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक बिमलेश कुमार यादवको कमाण्डमा चार सदस्यीय प्रहरी टोली परिचालन गरी खोजी तथा अनुसन्धान सुरु गरिएको थियो। बालिका हराएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा सात जना र पछि प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप सात सदस्यीय टोली परिचालन गरिएको थियो।
खोजी कार्यलाई थप प्रभावकारी बनाउन नेपाल प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट प्रहरी सहायक निरीक्षक विमल पौडेलको कमाण्डमा कुकुरसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको थियो। त्यस्तै, रिपुमर्दन गणबाट प्रमुख सेनानी गिरीराज गौतमको कमाण्डमा २६ जना तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको कमाण्डमा २० जनाको टोलीसमेत खोजीमा खटिएको थियो। लगातारको खोजीका क्रममा भदौ ७ गते बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६ स्थित क्षेत्रमा स्थानीय ४५ वर्षीया सल्मा नेसाले बालिकालाई फेला पारेकी थिइन्। उनले बालिका फेला परेको जानकारी आफन्तलाई गराएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।
अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी नायब निरीक्षक बिमलेश कुमार यादवको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमाण्डमा खटिएको प्रहरी टोलीले बालिकालाई सकुशल उद्धार गरी स्वास्थ्य परीक्षणका लागि आफन्तको साथमा प्रादेशिक अस्पताल कलैया लगेको थियो।
प्रहरीका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। बालिका घरबाट करिब एक किलोमिटर उत्तरतर्फ फेला परेकी हुन्। बालिका हराएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले रातभर खोजी अभियान सञ्चालन गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



