
बारा – मधेस प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री महमम्द समीरले कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया टोल स्थित श्मशान घाटको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा कार्यवाहक मुख्यमन्त्री समीरले श्मशान घाटसम्म पुग्ने बाटोको अवस्था, मलामी जाने तथा स्थानीयवासीलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार र घाटको समग्र अवस्थाबारे स्थानीय सङ्ग जानकारी लिएका छ्न।
स्थानीय समुदायसँग भएको छलफल तथा भेटघाटमा श्मशान घाटसम्म सहज रूपमा पुग्न सक्ने गरी सडक तथा बाटो निर्माण तथा स्तरोन्नति गर्नुपर्ने विषय उठाइएको थियो। स्थानीयवासीले वर्षायामलगायतका समयमा घाटसम्म पुग्न कठिनाइ हुने भएकाले आवतजावत सहज हुने गरी बाटो निर्माण गर्नुपर्ने माग राखेका थिए।
त्यस्तै, अन्तिम संस्कारका लागि घाटमा आउने मलामी तथा आफन्तलाई बस्न सहज होस् भन्ने उद्देश्यले प्रतीक्षालय निर्माण गर्नुपर्ने आवश्यकता पनि स्थानीयले कार्यवाहक मुख्यमन्त्री समीरसमक्ष राखेका थिए। श्मशान घाटमा आउने व्यक्तिहरूका लागि खानेपानीको सुविधा आवश्यक रहेको भन्दै धारा जडान गर्नुपर्ने मागसमेत गरिएको थियो।
स्थानीयका माग तथा समस्याबारे जानकारी लिएपछि कार्यवाहक मुख्यमन्त्री समीरले श्मशान घाटसम्म पुग्ने बाटो, प्रतीक्षालय तथा खानेपानीका लागि धारा जडानजस्ता आधारभूत पूर्वाधार निर्माणका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। श्मशान घाटजस्तो संवेदनशील तथा सार्वजनिक स्थलमा आवश्यक पूर्वाधारको विकास हुनु स्थानीय समुदायका लागि महत्वपूर्ण रहेको बताउँदै उनले प्राथमिकताका आधारमा काम अघि बढाउने धारणा राखेका थिए।
निरीक्षण तथा छलफलका क्रममा स्थानीय समुदायका प्रतिनिधिहरूले श्मशान घाटको व्यवस्थित विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए। स्थानीयवासीले घाटसम्म पुग्ने बाटो, बस्ने स्थान र खानेपानीको व्यवस्था भएपछि अन्तिम संस्कारका लागि आउने सर्वसाधारणलाई ठूलो राहत पुग्ने बताएका छन्।
कार्यवाहक मुख्यमन्त्री समीरको श्मशानघाटको निरीक्षणलाई स्थानीयले भौतिक सुधार तथा व्यवस्थापनतर्फ प्रदेश सरकारको ध्यान गएको सकारात्मक कदमका रूपमा लिएका छन्। अब स्थानीयले उठाएका माग कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।



