राष्ट्रियसमाचारस्थानीय

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा किशोर पक्राउ

बारा — जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्। घटनामा प्रयोग भएको भनिएको ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी २४ वर्षीय युवकलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत भदौ २ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र अन्दाजी ३/४ वर्षकी बालिका मृत अवस्थामा फेला परेकी थिइन्। बालिका मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीको कमाण्डमा SOCO सहितको टोली घटनास्थल पुगेको थियो।

घटनास्थललाई सुरक्षित राख्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा SOCO सहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगन्जबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका भदौ ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्।

प्रारम्भिक अनुसन्धानबाट बालिकालाई जितपुरसिमरा–२ निवासी १६ वर्षीय सुमन थापाले चकलेट दिएर फकाई घटनास्थलमा लगेको र त्यहाँ यौन हिंसा गरी हत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनालाई बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सुमन थापा र म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि घटनाको वास्तविकता, उनीहरूको संलग्नताको प्रकृति तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीले घटनाको वैज्ञानिक तथा प्राविधिक अनुसन्धानसमेत अघि बढाएको जनाएको छ। तालिमप्राप्त कुकुरको प्रयोग, घटनास्थलको परीक्षण तथा अन्य प्रमाण संकलनका आधारमा अनुसन्धानलाई अगाडि बढाइएको हो।

बालिका घरबाट हराएपछि उनको खोजी गरिएको र पछि मृत अवस्थामा फेला परेपछि घटना बाहिर आएको हो। घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश सिर्जना गरेको छ। प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाको थप तथ्य सार्वजनिक गर्ने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button