प्रदेश खबरराष्ट्रियसमाचार

धनुषामा शान्ति, सुरक्षा र धार्मिक सद्भाव कायम राख्न एसएसपी भुनेश्वर तिवारी सक्रिय

जनकपुरधाम, साउन १५ — जिल्ला प्रहरी कार्यालय धनुषामा  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुनेश्वर तिवारीले जिल्लामा शान्ति, सुरक्षा तथा धार्मिक सद्भाव कायम राख्न विभिन्न समुदायका सरोकारवालासँग निरन्तर समन्वय र छलफललाई तीव्रता दिएका छन्।

मधेस प्रदेशका विभिन्न स्थानमा धार्मिक तथा जातीय संवेदनशीलता बढिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपी तिवारीलाई थप जिम्मेवारीसहित धनुषा जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएको बताइएको छ।

सोही क्रममा एसएसपी तिवारीले शुक्रबार  बिहानदेखि विभिन्न धर्मका गुरु, समुदायका अगुवा, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालासँग छुट्टाछुट्टै भेटघाट गरी जिल्लाको सुरक्षा अवस्था, धार्मिक सद्भाव तथा सामाजिक एकताका विषयमा राय–सुझाव संकलन गरेका छन्। प्राप्त सुझावका आधारमा जिल्लाको सुरक्षा रणनीतिलाई थप प्रभावकारी बनाइने प्रहरी स्रोतले जनाएको छ।

एसएसपी तिवारीले समुदायबीच आपसी विश्वास, सहकार्य र संवादलाई प्राथमिकतामा राख्दै कुनै पनि प्रकारका धार्मिक वा जातीय विवाद उत्पन्न हुन नदिन प्रहरीले आवश्यक सतर्कता अपनाइरहेको बताएका छन्। सम्भावित संवेदनशील गतिविधिमाथि निगरानी बढाइएको तथा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको समेत जनाइएको छ।

प्रहरी संगठनभित्र अपराध अनुसन्धानमा दक्ष र अनुभवी अधिकृतका रूपमा परिचित एसएसपी तिवारीले यसअघि प्रहरी उपरीक्षकका रूपमा जिल्ला प्रहरी कार्यालय धनुषामा करिब १३ महिनासम्म नेतृत्व गरेका थिए। त्यस अवधिमा जिल्लामा कुनै पनि ठूलो धार्मिक वा जातीय द्वन्द्व तथा अप्रिय घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्थापन गरिएको भन्दै उनको कार्यशैलीको प्रशंसा हुने गरेको छ।

स्थानीय नागरिक, सामाजिक अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिहरूले पनि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रहरी र समुदायबीचको समन्वय अझ सुदृढ हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले एसएसपी तिवारीले अपनाएको संवादमुखी कार्यशैलीले सामाजिक सद्भाव कायम राख्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले पनि सबै समुदायलाई सामाजिक सद्भाव, आपसी सहिष्णुता र कानुनी शासनको सम्मान गर्दै कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन  वरिष्ठ प्रहरी उपरीक्षक तिवारीले आग्रह गर्नु  गरेको छ। तिवारीले शान्ति सुरक्षा कायम राख्न सबै पक्षसँग निरन्तर समन्वय र सहकार्य जारी रहने जानकारी गराउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button