सुरक्षा चुनौती बढेपछि बारामा वरिष्ठ प्रहरी उपरीक्षक बोगटी र धनुषामा तिवारी सहित १५ जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।

बारा – तराई–मधेश क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले एआईजीदेखि एसएसपीसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न संवेदनशील जिल्लामा फिल्डमा खटाएको छ।
सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको घटनापछि मोरङ, सुनसरी, सिरहा, धनुषालगायतका जिल्लामा तनाव, आगजनी र झडपका घटना बढेपछि सुरक्षा व्यवस्थापन थप कडा पारिएको हो। प्रभावित क्षेत्रमा कर्फ्यु लगाउनुका साथै नेपाली सेनासमेत परिचालन गरिएको छ।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार सुरक्षा अवस्था, सूचना संकलन, स्रोत–साधन व्यवस्थापन र सुरक्षा कार्ययोजनालाई प्रभावकारी बनाउन उच्च अधिकारीहरूलाई फिल्डमा पठाइएको हो।
बारा जिल्लाको सुरक्षा समन्वयको जिम्मेवारी एसएसपी होबिन्द्र बोगटीलाई दिइएको छ। धनुषा एसएसपी भुवनेश्वर तिवारी रौतहटमा एसएसपी दीप शम्शेर जबरा, सर्लाहीमा एसएसपी गोपालचन्द्र भट्टराई, महोत्तरीमा एसएसपी कृष्णप्रसाद पंगेनी र एसएसपी सोमेन्द्र सिंह राठौरलाई खटाइएको प्रहरी स्रोतले जनाएको छ।



