धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न बाराका राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाको संयुक्त अपिल

कलैया, साउन १५ — बारा जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्न जिल्लामा क्रियाशील सबै राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा जिल्ला सुरक्षा समितिका प्रतिनिधिहरूले संयुक्त अपिल जारी गरेका छन्।
शुक्रबार जारी गरिएको संयुक्त अपिलमा हालै सुनसरी, सिरहा लगायत विभिन्न जिल्लामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता घटनाबाट सबै पक्षले आवश्यक पाठ सिक्नुपर्ने उल्लेख गरिएको छ।
अपिलमा बारा जिल्लाले विगतमा विभिन्न हिंसात्मक घटनाबाट ठूलो क्षति व्यहोरेको स्मरण गराउँदै जिल्लामा बसोबास गर्ने सबै समुदायलाई सजग र संयमित रहन आग्रह गरिएको छ। सामाजिक सद्भाव बिथोल्ने उद्देश्यले फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब लगायत सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, पुराना घटनालाई नयाँ भन्दै प्रचार गर्ने, धर्म, आस्था, संस्कृति वा कुनै समुदायलाई लक्षित गरी घृणा फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा अपमानजनक टिप्पणी गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
संयुक्त अपिलमा सामाजिक सद्भावमा आँच पुग्ने कुनै पनि गतिविधि, अभिव्यक्ति वा प्रचार–प्रसार नगर्न तथा यस्ता कार्यबाट टाढा रहन सबैमा अनुरोध गरिएको छ। जिल्लामा आपसी सद्भाव, शान्ति, सुरक्षा, विविधता र बहुल पहिचानलाई संरक्षण गर्दै विभिन्न धर्म तथा समुदायबीचको एकता, सहिष्णुता र भाइचारा कायम राख्न सबै नागरिक, राजनीतिक दल, धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, युवा वर्ग तथा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिएको छ।
त्यस्तै, वर्तमान संवेदनशील परिस्थितिमा सबैले संयमता अपनाई आ–आफ्नो स्थानबाट शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ। कुनै पनि कार्यक्रम वा गतिविधि सञ्चालन गर्दा समाजमा उत्तेजना फैलिने, धार्मिक भावनामा चोट पुग्ने वा सामाजिक एकतामा असर पर्ने कार्य नगर्न अपिलमा विशेष अनुरोध गरिएको छ।
संयुक्त अपिलमार्फत बारा जिल्लालाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी भाइचाराको नमुना जिल्लाका रूपमा स्थापित गर्न सबै पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त संयुक्त अपिलमा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सुरक्षा निकायका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्। अपिल संवत् २०८३ साल साउन १५ गते जारी गरिएको हो।



