प्रदेश खबरसमाचारसूचना-प्रविधि

मन्दिर परिसरमा एक पुरुष मृत अवस्थामा फेला, घटनाबारे गहन अनुसन्धान जारी

जनकपुर, साउन १५ — धनुषा जिल्लाको सबैला नगरपालिका–१२ स्थित नहरचोकमा रहेको बन्ठु राउत कडेरी मन्दिर परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको जनाएको छ।

प्रहरीका अनुसार २०८३ साउन १५ गते राति मन्दिर परिसरमा करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानबाट मृतक उक्त मन्दिरका पुजारी नभई बाहिरबाट आई मन्दिर परिसरमा बस्ने तथा घुमफिर गर्ने व्यक्ति रहेको खुलेको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको कार्य सुरु गरेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना कुनै धार्मिक विवादसँग सम्बन्धित नरही आपराधिक प्रकृतिको घटना देखिएको उल्लेख गरिएको छ। त्यसैले घटनालाई धार्मिक रंग नदिन तथा सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्न सबै नागरिकसँग प्रहरीले अपिल गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनामा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै अनुसन्धान सम्पन्न भएपछि घटनाको यथार्थ विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

उक्त जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएकोछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button