सुनसरी र सिरहाका दुःखद घटनाप्रति मन्त्री समिरद्वारा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न अपिल

कलैया – मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिरले पछिल्लो समयमा सुनसरी तथा बिहीबार दिउँसो सिरहामा भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। मन्त्री समिरले घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
शुक्रबार आफ्नो आधिकारिक फेसबुक तथा सचिवालयको सामाजिक सञ्जालमार्फत जारी सन्देशमा मन्त्री समिरले मधेस प्रदेशसहित सम्पूर्ण देशमा सामाजिक सद्भाव, आपसी सम्मान र शान्ति कायम राख्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन्। उनले घटनाको निष्पक्ष, पारदर्शी र यथाशीघ्र छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। न्यायिक प्रक्रियामार्फत सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ रहेको छ।
मन्त्री समिरले आम नागरिकलाई संयमता अपनाउन, कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन तथा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न हार्दिक अपिल गरेका हुन्।उनले समाजलाई सुरक्षित, शान्त र सुदृढ बनाउन सबै नागरिकबीचको एकता, सहिष्णुता र आपसी विश्वास नै सबैभन्दा बलियो आधार भएको उल्लेख गर्दै कठिन परिस्थितिमा सबै पक्ष जिम्मेवार र संयमित बन्नुपर्ने आवश्यकता औँल्याएका हुन्।



