देवानगञ्ज–३ कप्तानगन्ज घटनाको पीडित परिवार र गृह मन्त्रालयबीच ६ बुँदे सहमति

सुनसरी – साउन १४ – देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा साउन १० गते भएको दुःखद घटनामा परी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा गृह मन्त्रालयबीच बुधबार ६ बुँदे सहमति भएको छ। साउन १४ गते देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा सम्पन्न छलफलपछि मृतकका अभिभावक (पहिलो पक्ष) र गृह मन्त्रालय (दोस्रो पक्ष)बीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिपत्रअनुसार गृह मन्त्रालयले पीडित पक्षले राखेका मागहरू यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। सहमतिअनुसार मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ। साथै, मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट रु. १० लाख (अक्षरेपी दश लाख मात्र) आर्थिक सहायता उपलब्ध गराइने उल्लेख गरिएको छ।
त्यसैगरी, २०८३ साल साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमतिमा उल्लेख रहेको छ।
सहमतिपत्रमा देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल सुरु गरिने उल्लेख गरिएको छ। प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरू प्रचलित कानुनबमोजिम कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ।
त्यसैगरी, मृतकहरूको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।सहमतिपत्रको अन्त्यमा हस्तलिखित रूपमा साउन १५ गते दिउँसो २:०० बजेसम्म सञ्चालन हुँदै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति समेत जनाइएको छ।
उक्त सहमतिपत्रमा पहिलो पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक र मृतक जयप्रकाश मेहताका अभिभावकले हस्ताक्षर गरेका छन् भने दोस्रो पक्षका तर्फबाट गृहमन्त्री सुदन गुरुङले हस्ताक्षर गरेका छन्



