सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगञ्जका चार किल्लाभित्र निषेधाज्ञा जारी

वीरगञ्ज, साउन १४ । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाको सुरक्षा अवस्था तथा सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाको मुख्य क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा २०८३ साल साउन १४ गते साँझ ५:०० बजेदेखि साउन १५ गते बिहान ६:०० बजेसम्म वीरगञ्ज महानगरपालिकामा तोकिएको चार किल्लाभित्र निषेधाज्ञा लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएकोछ ।
आदेशअनुसार निषेधाज्ञा अवधिभर पाँच जना वा सोभन्दा बढी व्यक्तिहरू एकै स्थानमा भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सामूहिक गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले पछिल्लो समय उत्पन्न सुरक्षा संवेदनशीलता, सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ। निषेधाज्ञाको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत आदेशमा उल्लेख गरिएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्र (चार किल्ला)
पूर्व: प्रतिमा चोक हुँदै बसपार्क बाइपास रोड
पश्चिम: तिलावे पुल
उत्तर: गणतन्त्र चोक
दक्षिण: शंकराचार्य गेट
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार सुरक्षा अवस्था सामान्य बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।
प्रशासनले नागरिकलाई कुनै पनि अफवाहको पछि नलाग्न, सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुरक्षामा सहयोग पुर्याउन अपिल गरेको छ। साथै अत्यावश्यक सेवा, शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा संलग्न निकायले भने आफ्नो नियमित कार्य सञ्चालन गर्न सक्ने जनाइएको छ।




