राष्ट्रियसमाचार

पेट्रोल पम्पमा आगलागी, मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट

साउन ११ — बाराको परवानीपुर गाउँपालिका–५ नौतनस्थित ऋषभ आलय स्टोरमा पेट्रोल हालेर मोटरसाइकल स्टार्ट गर्ने क्रममा अचानक आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

 

आगलागीबाट पेट्रोल भर्ने एक थान डिस्पेन्सरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय प्रसौनीका अनुसार २०८३ साउन ११ गते अपराह्न करिब ३:३० बजे ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल भरिसकेपछि स्टार्ट गर्ने क्रममा अचानक आगो सल्किएको थियो। आगोले केही क्षणमै मोटरसाइकललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको थियो भने नजिकै रहेको पेट्रोल डिस्पेन्सरमा समेत आगो फैलिएको थियो।

घटनालगत्तै स्थानीय बासिन्दा, फायर एक्स्टिङ्गुइशर (अग्नि निभाउने उपकरण) तथा प्रहरीको सक्रियतामा करिब १० मिनेटपछि, अपराह्न ३:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै पेट्रोल भर्ने एक थान डिस्पेन्सरमा पनि क्षति पुगेको छ। यद्यपि, घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको राहतको विषय रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक राजदेव यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालक भने घटनापछि फरार रहेका छन्। घटनास्थल इलाका प्रहरी कार्यालय प्रसौनीबाट करिब १ किलोमिटर उत्तरतर्फ रहेको छ। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button