ब्रहमपुरीमा मोटरसाइकल दुर्घटना: १५ वर्षीय चालकको मृत्यु, एक जना घाइते

बारा, साउन ११ — बाराको कलैया उपमहानगरपालिका–१७ ब्रहमपुरीस्थित भित्री सडकखण्डमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ८:२५ बजे भवानीपुरबाट ब्रहमपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालककलैयाउपमहानगरपालिका–३ निवासी अजित मन्सुरका अन्दाजी १५ वर्षीय छोरा सोयब मन्सुर गम्भीर घाइते भएका थिए। मोटरसाइकलको पछाडि सवार कलैया–३ निवासी साबिर हुसेन अन्सारीका अन्दाजी १५ वर्षीय छोरा साहिद अन्सारी को हातमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
दुवै घाइतेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९:०० बजे चिकित्सकले ईसीजी (ECG) परीक्षणपछि गम्भीर घाइते चालक सोयब मन्सुरलाई मृत घोषणा गरेका हुन।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गंगापुर बाट प्रहरी सहायक निरीक्षक महमद हुसेन देवान को कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
मृतकको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।



