
बारा, साउन ११ – आइतबार राति परेको अविरल वर्षाका कारण बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित बकैया खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा जनचेतनामूलक माइकिङ अभियान सञ्चालन गरेका छन्।
मिति २०८३ साउन १० गते राति करिब ९:०० बजेदेखि परेको अविरल वर्षाका कारण बकैया खोलाको जलस्तर करिब ७ फिटसम्म पुगेपछि खोलाको आसपास बसोबास गर्ने स्थानीयवासीलाई सम्भावित बाढीजन्य जोखिमबाट सुरक्षित रहन आग्रह गर्दै माइकिङ गरिएको हो।
इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट प्रहरी सहायक निरीक्षक भोजबहादुर खत्रीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस निजगढबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद जोशीको कमाण्डमा ४ जनाको संयुक्त टोली परिचालन गरिएको थियो।
संयुक्त टोलीले बकैया खोलाको तटीय क्षेत्रमा रहेका बस्तीहरूमा पुगेर स्थानीयलाई खोला किनारमा अनावश्यक आवतजावत नगर्न, रातिको समयमा विशेष सतर्कता अपनाउन, बाढीको जोखिम देखिएमा सुरक्षित स्थानतर्फ जान तथा प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचना तथा निर्देशनको पालना गर्न आग्रह गरेको थियो।
सुरक्षा निकायले बाढी तथा डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रको निरन्तर अनुगमन भइरहेको जनाएको छ। साथै, कुनै पनि आकस्मिक अवस्था सिर्जना भएमा तत्काल उद्धार तथा राहतका लागि सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको समेत जानकारी दिएको छ।
प्रहरीले वर्षायाममा नदी तथा खोलाको जलस्तर अचानक बढ्न सक्ने भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन र कुनै पनि आपत्कालीन अवस्था देखिएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित सुरक्षा निकायमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।



