प्रदेश खबरराष्ट्रियसमाचार

जनताको नेता जनताकै साथमा : मन्त्री महम्मद समीरद्वारा बस्तीमै पुगेर समुदायको सुझाव संकलन सहित बिकास  निर्माणको अनुगमन

बारा, कलैया –  मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय महम्मद समीरले आफ्नो गृह जिल्ला बाराको विभिन्न बस्तीमा र समुदायमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीयको  समस्या, विकासका आवश्यकता तथा जनअपेक्षाबारे छलफल गरेका छन्।

मन्त्री समीरले कलैया उपमहानगरपालिका–२० बसतपुर  तथा फेटा गाउँपालिका–५ र ७ का स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सरकारको “एक निर्वाचन क्षेत्र–एक सडक” निर्माण कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेका सडक निर्माण कार्यको स्थलगत अनुगमन गरेका हुन्।

स्थानीय बासिन्दासँगको भेटमा उनले सडक, ढल, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्य, सिँचाइ तथा अन्य पूर्वाधार विकाससँग सम्बन्धित समस्याबारे जानकारी लिँदै नागरिकका गुनासा र सुझाव ध्यानपूर्वक सुनेका थिए। कार्यक्रममा स्थानीयले आफ्नो क्षेत्रका दीर्घकालीन विकासका लागि आवश्यक योजनाबारे खुला रूपमा धारणा राखेका थिए।
अनुगमनका क्रममा मन्त्री समीरले विकास निर्माणका कार्यहरू गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै स्थानीय आवश्यकताका आधारमा विकासलाई प्राथमिकता दिइने बताएका छन्। उनले नागरिकको सहभागिता र सुझावलाई विकास योजनाको आधार बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री समीरले “जनताको चाहना नै हाम्रो प्राथमिकता हो” भन्ने मान्यताका साथ सरकार अघि बढिरहेको उल्लेख गर्दै जनताको घरदैलोमै पुगेर समस्या बुझ्ने र समाधान खोज्ने कार्यलाई निरन्तरता दिइने बताए। उनले जनतासँग प्रत्यक्ष संवादबाट प्राप्त सुझावले योजनालाई अझ प्रभावकारी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार एक निर्वाचन क्षेत्र–एक सडक कार्यक्रमअन्तर्गत निर्माण भइरहेका सडकको नियमित अनुगमन गरी गुणस्तर कायम गरिनेछ। साथै आवश्यकता अनुसार प्रत्येक टोल र बस्तीमा विकासका पूर्वाधार विस्तार गर्दै समृद्ध, व्यवस्थित र विकसित क्षेत्र निर्माण गर्ने लक्ष्य रहेको उनले स्पष्ट पारे।

स्थानीयवासीले मन्त्री समीरको प्रत्यक्ष उपस्थितिलाई सकारात्मक रूपमा लिँदै वर्षौंदेखिका समस्याको समाधानमा सरकार गम्भीर बन्नुपर्ने माग राखेका थिए। उनीहरूले सडकको गुणस्तर, जलनिकास, खानेपानी, कृषि तथा अन्य आधारभूत सेवामा विशेष ध्यान दिन आग्रह गरेका छन्।
मन्त्री समीरको यो जनभेटघाट तथा स्थलगत अनुगमन कार्यक्रमले स्थानीय तहमा सरकारप्रतिको विश्वास अभिवृद्धि गर्नुका साथै नागरिक र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। स्थानीयस्तरमै पुगेर जनताका समस्या सुन्ने र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने यस्तो अभ्यासलाई प्रभावकारी तथा जनउत्तरदायी शासनको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button