जितपुरमा अनियन्त्रित ईभी कार पसलमा ठोक्किँदा लाखौँको क्षति

बारा, साउन १० — बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ स्थित टेडा रोडको भित्री सडकखण्डमा शनिबार दिउँसो एक विद्युतीय (EV) कार अनियन्त्रित भई दुर्घटना हुँदा पसलमा क्षति पुगेको छ।
प्रहरीका अनुसार दिउँसो करिब २:३० बजे टेडाबाट जितपुरतर्फ आउँदै गरेको बागमती प्रदेश बा.प्र. ०१–०३१ च ३८८० नम्बरको ईभी कार आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको रोहित एण्ड प्रियंका किराना पसल अगाडि राखिएका १२ बोरा चामलमा ठोक्किएको थियो। दुर्घटनामा उक्त चामलका बोरासहित नजिकै रहेको प्रभात ज्वेलर्सको काउन्टरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट प्रहरी सहायक निरीक्षक तेज नारायण बैठाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा कार चालक मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–८ निवासी करिब ५० वर्षीय अशोक कुमार अधिकारी रहेको खुलेको छ।
प्रहरीका अनुसार चालक आफैँ इलाका प्रहरी कार्यालय सिमरामा आएका छन् भने दुर्घटनाग्रस्त कार इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरीकार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी गराएका छन् ।



