जनताकै बीचमा भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समीर, मटिअर्वा–लिलकन्ठवामा सडक निर्माणको अनुगमन गर्दै नागरिकका गुनासाहरु प्रत्यक्ष रूपमा सुन्दै।

कलैया, बारा – मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय महम्मद समीर आफ्नो गृह जिल्ला बाराको सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गत पर्ने कलैया उपमहानगरपालिका–१० मटिअर्वा र लिलकन्ठवा टोल पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ।
भेटघाटका क्रममा मन्त्री समीरले प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र–एक सडक’ कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको सडक निर्माण कार्यको स्थलगत अनुगमन गर्नुका साथै निर्माणको प्रगति, गुणस्तर र समयमै सम्पन्न गर्ने विषयमा सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिनुभएको थियो।
स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री समीरले सडक, नाली, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायत आधारभूत पूर्वाधारका समस्या, गुनासा तथा सुझाव ध्यानपूर्वक सुन्नुभएको थियो। उहाँले जनताले राखेका हरेक समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै योजनाबद्ध रूपमा विकासका काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री समीरले “जनताको चाहना नै हाम्रो प्राथमिकता हो। जनताले भोगिरहेका समस्या बुझ्न कार्यालयमा बसेर मात्र सम्भव हुँदैन। त्यसैले म प्रत्यक्ष गाउँ–टोलमा पुगेर नागरिकका गुनासा सुन्न र समाधानका लागि आवश्यक पहल गर्न आएको हुँ,” भन्दै विकास निर्माणका योजनाहरू जनताको आवश्यकता र प्राथमिकताअनुसार अघि बढाइने बताउनुभयो।

उहाँले विकास भनेको सडक निर्माणमा मात्र सीमित नभई नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अभियान भएको उल्लेख गर्दै समृद्ध, व्यवस्थित र आधुनिक निर्वाचन क्षेत्र निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

स्थानीयवासीले मन्त्री समीरले जनतामाझ प्रत्यक्ष पुगेर समस्या सुनिराख्नु भएकोमा खुसी व्यक्त गर्दै । विकास र निर्माणको अनुगमन गर्ने शैलीले जनप्रतिनिधिप्रतिको विश्वास बढाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्न, गुणस्तर कायम गर्न तथा अन्य आवश्यक पूर्वाधार निर्माणमा समेत विशेष ध्यान दिन आग्रह गरेका थिए।
भेटघाट तथा अनुगमन कार्यक्रमले विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउनुका साथै जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। मन्त्री समीरले आगामी दिनमा पनि नियमित रूपमा गाउँ–गाउँमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माणका कार्यलाई तीव्रता दिने प्रतिबद्धता दोहोर्याउनुभएको छ।



