प्रदेश खबरसमाचार

कलैयामा ट्राफिक व्यवस्थापन अभियान सुरु : भरत चोकसहित मुख्य बजार क्षेत्रमा अव्यवस्थित पार्किङ हटाउने अभियान तीव्र

कलैया, बारा
बारा जिल्लाको सदरमुकाम कलैयामा लामो समयदेखि देखिँदै आएको अव्यवस्थित ट्राफिक, जथाभावी पार्किङ तथा सवारी चापलाई व्यवस्थित गर्ने उद्देश्यले व्यापक ट्राफिक व्यवस्थापन अभियान सञ्चालन गरिएको छ। GenZ & Youth of Bara को सक्रिय पहलमा जिल्ला प्रहरी कार्यालय बारा, अस्थायी ट्राफिक पोस्ट कलैया, सशस्त्र प्रहरी बल तथा नगर प्रहरीको सहकार्य र समन्वयमा अभियान सुरु गरिएको हो।

अभियानको नेतृत्व अस्थायी ट्राफिक पोस्ट कलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक प्रीन्स नन्दन यादव ले गरिरहेका छन्। अभियान अन्तर्गत कलैयाको अत्यधिक व्यस्त क्षेत्र भरत चोक, मुख्य बजार क्षेत्र तथा आसपासका स्थानहरूमा सवारी आवागमनलाई सहज बनाउने, अव्यवस्थित पार्किङ हटाउने तथा ट्राफिक अनुशासन कायम गराउने कार्यलाई प्राथमिकता दिइएको छ।

अभियानका क्रममा ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले सडकमा जथाभावी पार्किङ गरिएका सवारी साधन हटाउने, तोकिएको स्थानमा मात्र पार्किङ गर्न आग्रह गर्ने, सवारी चालकलाई ट्राफिक नियमबारे सचेत गराउने तथा सडक अतिक्रमणका कारण हुने सवारी जाम न्यूनीकरण गर्ने कार्य गरिरहेको छ।

यस अवसरमा सुमो, ईभी, ई–रिक्सा, म्याजिक तथा अन्य सार्वजनिक सवारी साधनका चालक र व्यवसायीहरूलाई ट्राफिक व्यवस्थापन अभियानमा पूर्ण सहयोग गर्न आग्रह गरिएको छ। सम्बन्धित निकायले तोकिएको स्थानबाहेक अन्यत्र सवारी पार्किङ नगर्न, यात्रु चढाउने–ओराल्ने कार्य पनि व्यवस्थित रूपमा गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

कलैया बजारमा विगत लामो समयदेखि सडक किनारामा अनियन्त्रित रूपमा सवारी पार्किङ गर्ने, यात्रु पर्खने बहानामा सार्वजनिक सवारी साधन सडकमै रोक्ने तथा अव्यवस्थित सञ्चालनका कारण दैनिक रूपमा सवारी जाम हुने समस्या देखिँदै आएको थियो। यसले सर्वसाधारण, विद्यार्थी, व्यवसायी तथा आपत्कालीन सेवामा समेत प्रत्यक्ष असर पारिरहेको थियो। अभियानमा सहभागी निकायहरूले सबै सरोकारवालाको सकारात्मक सहयोग प्राप्त भएमा कलैया बजारको ट्राफिक व्यवस्थापनलाई स्थायी रूपमा व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। स्थानीय नागरिकले पनि यस्तो अभियानलाई निरन्तरता दिनुपर्ने र नियम उल्लङ्घन गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने धारणा राखेका छन्।

GenZ & Youth of Bara कलैया नगर अध्यक्ष सौरभ पाण्डेका अनुसार नागरिकस्तरबाट सुरु गरिएको यस अभियानले ट्राफिक अनुशासन कायम गर्न, बजार क्षेत्रलाई व्यवस्थित बनाउन तथा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ। संस्थाले आगामी दिनमा पनि सम्बन्धित सुरक्षा निकायसँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम र ट्राफिक व्यवस्थापनसम्बन्धी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले ट्राफिक व्यवस्थापन केवल प्रहरीको जिम्मेवारी मात्र नभई सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सवारी चालक, व्यवसायी, स्थानीयवासी तथा सर्वसाधारणलाई नियमको पालना गरी अभियानलाई सफल बनाउन सहयोग गर्न अपिल गरेको छ। कलैया बजार क्षेत्रमा सञ्चालन गरिएको यो अभियानलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। लामो समयदेखि अस्तव्यस्त रहेको पार्किङ व्यवस्थापनलाई सुधार गर्दै बजारलाई व्यवस्थित, सुरक्षित र सहज बनाउने दिशामा यो अभियान महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। पार्किङ क्षेत्र कलैया स्थित त्रिचन्द्र मा.बि.को दक्षिणतर्फको पर्खालको छेउतिर तोकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button