
बारा, साउन १० — बाराको करैयामाई गाउँपालिका–८ स्थित नरही चोकदेखि इटहरतर्फ जाने सडकखण्डमा अज्ञात मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार साउन ९ गते राति करिब ११:०० बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री उमेश साह सोनार र पवन साह सोनारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गञ्जभवानिपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै घाइतेको उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पठाएको जनाएको छ।
उपचारकै क्रममा साउन १० गते बिहान करिब १:२० बजे करैयामाई गाउँपालिका–८ निवासी करिब २५ वर्षीय उमेश साह सोनारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल न्युरो अस्पतालमै राखिएको छ।
त्यसैगरी, बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५, इटियाही निवासी करिब ४० वर्षीय पवन साह सोनारको टाउकोमा गम्भीर चोट लागेको छ। उनको न्युरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको खोजी कार्य तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



