कलैया ट्राफिक पोस्टको इन्चार्ज प्रीन्स नन्दन यादवको आर्थिक असुलीको आरोप फेरि चर्चामा

कलैया, बारा – बाराको अस्थायी ट्राफिक पोस्ट कलैयाका इन्चार्ज प्रीन्स नन्दन यादवले कलैया ट्राफिक पोस्टको ईन्चार्जको लागि आर्थिक चलखेल गरेर आएको आरोप लागेको छ । त्यसै सदरमुकाम कलैया बजार र कलैयाको भरत चोक र छेउछाउको ट्राफिक व्यवस्थापन फितलो पारी आर्थिक प्रलोभनमा परेको आरोप लागेको छ ।
विगतमाको दिनमा कलैया ट्राफिक पोस्टमा प्रहरी नायब निरीक्षक (सई) वा वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) को नेतृत्वमा सञ्चालन हुँदै आएको पोस्टमा हाल प्रहरी सहायक निरीक्षक (असई) प्रिन्स नन्दन यादवलाई जिम्मेवारी दिइएको विषयलाई लिएर विभिन्न प्रश्न उठ्न थालेका छन्। केही स्थानीय स्रोतले यसलाई “टेन्डर मिलाएर गरिएको नियुक्ति” भन्दै आरोप लगाएका छन्। यद्यपि यस आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
स्थानीयवासी तथा सरोकारवालाहरूका अनुसार ट्राफिक व्यवस्थापनभन्दा बढी आर्थिक संकलनमा ध्यान केन्द्रित भएको गुनासो बढ्दै गएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा, बारा–३ का प्रतिनिधिसभा सदस्य अरबिन्द साह तथा जेन–जी युवाको सहभागितामा ट्राफिक व्यवस्थापन सुधार अभियान सञ्चालन भइरहँदा पनि ट्राफिक प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि देखिएको दाबी गरिएको छ।
केही दिन पहिला कलैयाको ट्राफिक चेकजाँचका क्रममा सवारीसाधनबाट अनावश्यक रकम असुली भइरहेको आरोपसम्बन्धी समाचार प्रकाशित गरेको थियो। त्यसप्रति प्रतिक्रिया दिँदै असई प्रिन्स नन्दन यादवले आफूले ट्राफिक नियम उल्लंघन गर्ने, मापसे गर्ने वा सवारी चालक अनुमतिपत्रविना सवारी चलाउनेलाई नछाडेकै कारण आफूविरुद्ध बदनाम गर्ने उद्देश्यले समाचार प्रकाशित गरिएको आरोप लगाएका छन्।
यद्यपि, स्थानीय व्यवसायी र सवारी चालकहरूले भने ट्राफिक प्रहरीले कार्यालय अगाडि चेकपोस्ट राखेर चेकजाँचको नाममा अवैध रकम असुल्ने, माछा तथा तरकारी बोकेका सवारीबाट सामानसमेत लिने, मालवाहक सवारीलाई ओभरलोडको नाममा आर्थिक दबाब दिने तथा ई–रिक्साबाट मासिक रूपमा रकम उठाउने गरेको गम्भीर आरोप लगाएका छन्। यी आरोपहरूको पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन।
यस विषयमा ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक हरि भट्टराईसँग प्रतिक्रिया माग्दा उनले “पथलैया र निजगढअन्तर्गतका पोस्टमा दरबन्दीको अवस्था र संगठनको आवश्यकताअनुसार जो–कोही योग्य प्रहरी कर्मचारीलाई इन्चार्जको जिम्मेवारी दिन सकिन्छ,” भन्ने प्रतिक्रिया दिएका छन्। उनले नियुक्ति प्रक्रिया नियमअनुसार हुने दाबी गरेका छन्।
उता, स्थानीय नागरिक तथा सरोकारवालाले कलैयाको ट्राफिक व्यवस्थापनमा देखिएको भनिएको आर्थिक अनियमितता, इन्चार्ज नियुक्ति प्रक्रिया र ट्राफिक चेकजाँचका गतिविधिबारे निष्पक्ष छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, मधेश प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रधान कार्यालयसँग माग गरेका छन्।



