Uncategorizedराष्ट्रियसमाचार

पर्सा प्रहरी मधेशकै सर्वोत्कृष्ट : लागूऔषध नियन्त्रणदेखि राजस्व सुरक्षासम्म ऐतिहासिक उपलब्धि

जेष्ठ – २

वीरगञ्ज, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्लामध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्दै उल्लेखनीय सफलता हात पारेको छ। उत्कृष्ट कार्यसम्पादनका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक प्रशंसापत्रसहित सम्मानित भएका छन्।

एक वर्षको अवधिमा पर्सा प्रहरीले लागूऔषध नियन्त्रण, भन्सार तथा राजस्व चुहावट रोकथाम, मानव बेचबिखन नियन्त्रण, फैसला कार्यान्वयन तथा गम्भीर अपराध अनुसन्धानका क्षेत्रमा प्रभावकारी नतिजा हासिल गरेको जनाएको छ। सार्वजनिक गरिएको वार्षिक विवरणले पर्सा प्रहरीको सक्रियता र सफलतालाई स्पष्ट रूपमा देखाएको छ।
फैसला कार्यान्वयनमा उल्लेखनीय सफलता
फरार अभियुक्त तथा अदालतका फैसला कार्यान्वयनतर्फ पर्सा प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कार्यालयका अनुसार विभिन्न मुद्दामा सजाय तोकिएका ७७५ जना फरार प्रतिवादीलाई पक्राउ गरी १५२ वर्ष ८ महिना २१ दिन कैद असुल गरिएको छ। साथै उनीहरूबाट ७ करोड ६६ लाख ९६ हजार ७६० रुपैयाँ जरिवाना समेत असुल गरिएको छ।

लागूऔषध नियन्त्रणमा कडा अभियान -: सीमावर्ती जिल्ला पर्सामा लागूऔषध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले वर्षभरि विशेष अभियान सञ्चालन गरेको थियो। यस क्रममा ४३ वटा लागूऔषध मुद्दा दर्ता गरी ५९ जना प्रतिवादी पक्राउ गरिएको छ।
प्रहरीले बरामद गरेको लागूऔषधको परिमाण अत्यन्त ठूलो रहेको छ। जसअनुसार:
गाँजा : ७९९ किलो ८४० ग्राम
चरेश : २६९ किलो ४०० ग्राम
ब्राउन सुगर : ४१ ग्राम ६८९ मिलिग्राम
फेनारगन : ३५० एम्पुल
डाइजेपाम : ३५० एम्पुल
ब्युनोर्फिन : ३५० एम्पुल
ट्रामाडोल : १ लाख ३६ हजार ७१० क्याप्सुल
नाइट्राजेपाम : २३० ट्याब्लेट

त्यसैगरी, अवैध हुण्डी कारोबारविरुद्धको कारबाहीमा ९ वटा मुद्दा दर्ता गरी १३ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ६२ लाख ६१ हजार ४७० रुपैयाँ बराबरको रकम बरामद गरिएको प्रहरीले जनाएको छ।मानव बेचबिखन नियन्त्रणमा सक्रियतामानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चालन गरिएको अभियानअन्तर्गत ३ वटा मुद्दा दर्ता भई ५ जना अभियुक्त पक्राउ परेका छन्। साथै जोखिममा परेका ३९ जना महिला तथा बालबालिकाको उद्धार गरी सम्बन्धित निकायको संरक्षणमा पठाइएको छ।

गाँजा खेती र अवैध मदिरा उत्पादनमा नियन्त्रण
प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरिएको अवैध गाँजा खेतीमाथि व्यापक कारबाही गर्दै ७ बिघा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको ४ लाख ३२ हजार ६ सय गाँजाका बोट नष्ट गरेको छ। यसैगरी, १९ वटा अवैध मदिरा भट्टी नष्ट गरी १२ हजार ८८५ लिटर तयारी मदिरा र २९ हजार ९४० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ।भन्सार चोरी पैठारीमा करिब ४४ करोडको बरामदगी खुला सीमाको दुरुपयोग गर्दै हुने तस्करी र राजस्व चुहावट नियन्त्रणमा पनि पर्सा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। वर्षभरिमा ४ जनालाई पक्राउ गरी ४९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

कारबाहीका क्रममा ४३ करोड ९८ लाख ६७ हजार ४५० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। विशेष अपरेशनमार्फत मात्रै ४ करोड ७७ लाख रुपैयाँ बराबरको सुपारी बरामद गरिएको थियो।
ज्यानसम्बन्धी अपराध अनुसन्धानमा सफलता
ज्यानसम्बन्धी गम्भीर अपराधमा संलग्न फरार अभियुक्तहरूको खोजी अभियानलाई तीव्र बनाउँदै पर्सा प्रहरीले भारतसँगको समन्वयमा मोतिहारीबाट ७ जना अभियुक्त पक्राउ गरी नेपाल ल्याएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

त्यसैगरी, घरेलु हिंसा, कुटपिट तथा अन्य गम्भीर अपराधमा संलग्न व्यक्तिहरूमाथि समेत कानुनी कारबाहीलाई प्रभावकारी रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।
सुरक्षा, अनुसन्धान र राजस्व संरक्षणमा उदाहरणीय कार्य
एक वर्षको कार्यसम्पादनलाई हेर्दा पर्सा प्रहरीले लागूऔषध नियन्त्रण, सीमा क्षेत्रको सुरक्षा, राजस्व संरक्षण, फरार अभियुक्त पक्राउ, मानव बेचबिखन नियन्त्रण तथा गम्भीर अपराध अनुसन्धानका क्षेत्रमा प्रभावकारी र परिणाममुखी कार्य गरेको देखिन्छ। यही उत्कृष्ट कार्यसम्पादनका आधारमा पर्सा प्रहरी मधेश प्रदेशकै सर्वोत्कृष्ट प्रहरी कार्यालय घोषित भएको हो।
प्रहरी प्रमुख सुदीप राज पाठक को नेतृत्वमा पर्सा प्रहरीले हासिल गरेको यो सफलता सुरक्षा व्यवस्थापन र कानुन कार्यान्वयनको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button