
बारा – बारामा सशस्त्र प्रहरीले करिब तीन लाख रुपैयाँ बराबरको अवैध सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वा र बि.ओ.पी. बेनौलीबाट संयुक्त रूपमा खटिएको प्रहरीको टोलीले नियमित गस्ती र चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानहरु बरामद गरेको छ।
बरामद गरिएको सामानहरु करिब रु. ३ लाख बराबर मूल्यको १९२ थान स्टिल जग, किराना सामग्री तथा अन्य विभिन्न सामानहरू रहेको छ।
साथै सामान ओसारपसारमा प्रयोग गरिएको एक मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार सीमाक्षेत्रमा हुने चोरीपैठारी तथा अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी बाराले नियमित रूपमा निगरानी, पैदल गस्ती र चेकजाँचलाई थप कडाइका साथ अभियान सञ्चालन गर्दै आएको छ । सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले प्रतिबद्ध रहेको समेत उनले बताएका छन्



