
जितपुर – नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत छात्रा तथा दलित विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गरिएको हो।
विद्यालयका अनुसार कुल ३६६ जना विद्यार्थीलाई प्रतिविद्यार्थी रु ४०० का दरले रकम वितरण गरिएको छ। आर्थिक रूपमा कमजोर तथा लक्षित वर्गका बालबालिकाको शैक्षिक निरन्तरता कायम राख्दै अध्ययनप्रति उत्साह बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने बृजमोहन चौधरी अतिथिका रूपमा सहभागी हुनुभयो। विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीलाई नियमित अध्ययनमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यार्थीको पढाइप्रति रुचि र प्रेरणा अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता छात्रवृत्ति कार्यक्रमले विशेषगरी विपन्न र दलित समुदायका बालबालिकालाई शिक्षातर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पु-याउने बताएका छन ।



