बारामा प्रतिनिधि सभा निर्वाचन भव्य रूपमा सम्पन्न: सुरक्षाको कडा निगरानीमा ६० प्रतिशत मतदान, चारवटै क्षेत्रमा आजै रातिबाट मतगणना सुरु गर्ने निर्वाचन कार्यालयको तयारी।

बारा- बारा जिल्लाभर आज भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन अत्यन्तै उत्साहजनक, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ ।
जसमा जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार करिब ६० प्रतिशत मतदाताहरूले आफ्नो अमूल्य मताधिकार प्रयोग गरेका छन् भने मतदान प्रक्रिया सकिएलगत्तै जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरूलाई कडा सुरक्षा घेराभित्र सिलबन्दी गरी सम्बन्धित निर्वाचन क्षेत्रका तोकिएका मतगणना स्थलहरूमा ल्याउने कार्य तीव्र गतिमा भइरहेको छ।
जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कोल्हबीमा, क्षेत्र नम्बर २ को बरियारपुरमा, क्षेत्र नम्बर ३ को सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा र क्षेत्र नम्बर ४ को मतगणना परवानीपुरमा गर्ने गरी व्यवस्था मिलाइएको छ र सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेपछि राजनीतिक दलहरूबीच सर्वदलीय सहमति जुटाएर आजै रातिदेखि गणना कार्य प्रारम्भ गर्ने लक्ष्य राखिएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले जिल्लाका कुल ४ लाख ६५ हजार ७८४ मतदाताहरूलाई लक्षित गरी तोकिएका ३०५ मतदान स्थल र ५८७ मतदान केन्द्रहरूमा सुरक्षाको सुदृढ प्रबन्ध मिलाइएका कारण कुनै पनि अप्रिय घटना नभई निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरेमा छन ।
बिहानैदेखि वृद्धवृद्धा, युवा तथा महिला मतदाताहरूको लामो लाइन लागेको बाराका विभिन्न क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति र निर्वाचन कर्मचारीहरूको सक्रियताले गर्दा मतदान कार्य सहज भएको थियो भने अब सबैको ध्यान मतगणना स्थलतर्फ केन्द्रित भएको छ, जहाँ मतपेटिकाहरू सुरक्षित राख्न र गणनालाई पारदर्शी बनाउन सीसीटीभी क्यामेरा सहितको विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ र गणना सुरु भएलगत्तै प्रारम्भिक नतिजाहरू सार्वजनिक गरिने छ ।


