बारामा चुस्त सुरक्षाबीच मतदान सुरु: ५८७ केन्द्रमा उत्साहजनक सहभागिता, तीनै तहका सुरक्षा निकाय परिचालन।

बारा – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखि उत्साहजनक रूपमा मतदान कार्य सुरु भएको छ।
जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार यसपटक मतदाताको संख्या बढेर ४ लाख ६५ हजार पुगेको छ भने मतदानलाई सहज बनाउन जिल्लाभर कुल ५८७ वटा मतदान केन्द्र र सोही संख्यामा उप-मतदान केन्द्रहरूको व्यवस्था मिलाइएको छ।
निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बारामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ, जसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई एकीकृत सुरक्षा योजना अन्तर्गत परिचालन गरिएको छ।
विशेष गरी सीमावर्ती क्षेत्र र विगतका घटनाहरूलाई आधार मानी जिल्लाका केही मतदान केन्द्रहरूलाई ‘अति संवेदनशील’ र ‘संवेदनशील’ समूहमा वर्गीकरण गरी थप सुरक्षा फौज तैनाथ गरिएको छ।
मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले गस्ती तथा निगरानी गरिरहेका छन् भने कुनै पनि अप्रिय घटना हुन नदिन मोबाइल टोली र ‘क्विक रेस्पोन्स टिम’ (QRT) लाई समेत तयारी अवस्थामा राखिएको छ।
बिहानैदेखि मतदाताहरू लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले शान्तिपूर्ण रूपमा मतदान भइरहेको र साँझ ५ बजेसम्म सबै मतदातालाई सहभागी हुन आह्वान गरेको छ।


