अन्तर्राष्ट्रियकृषिखेलकुदप्रदेश खबरराजनीतिराष्ट्रियशिक्षासमाचारसूचना-प्रविधिस्थानीय
बारा जिल्लामा चुनावी खर्च पारदर्शितामा चुनौती, ११० उम्मेदवारमध्ये २८ जनाले मात्र खोले बैंक खाता

बारा–आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ११० जना उम्मेदवारमध्ये हालसम्म २८ जनाले मात्र निर्वाचन प्रयोजनका लागि अनिवार्य बैंक खाता सञ्चालनमा ल्याएका छन्।
निर्वाचन खर्च र आम्दानीलाई पारदर्शी बनाउन निर्वाचन आचारसंहिता अनुगमन समिति ले उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको भए पनि अधिकांश उम्मेदवारले अझै उक्त व्यवस्था पालना नगरेको देखिएको छ।
समितिका अनुसार चुनावी प्रचार–प्रसार, सभा–समारोह, सवारीसाधन, सामग्री व्यवस्थापनलगायत सबै आर्थिक कारोबार सोही बैंक खातामार्फत गर्नुपर्ने कानुनी व्यवस्था छ। यसले निर्वाचनमा हुने खर्चको निगरानी, लेखापरीक्षण र जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बारा का कोष नियन्त्रक राधेश्याम गिरिले निर्वाचन अवधिभर उम्मेदवारले गर्ने सम्पूर्ण आर्थिक कारोबार अनिवार्य रूपमा बैंक खाताबाटै हुनुपर्ने जानकारी दिएका छन्। उनका अनुसार नगद कारोबार वा व्यक्तिगत खातामार्फत गरिएको खर्च आचारसंहिता विपरीत मानिनेछ।
निर्वाचन कार्यालयले बैंक खाता नखोल्ने उम्मेदवारहरूलाई यथाशीघ्र खाता खोली विवरण पेश गर्न आग्रह गरेको छ।
निर्वाचन क्षेत्र नं. १ बाट आम जनता पार्टीका बिजय यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल, नेकपा एमाले का अच्युत प्रसाद मैनाली, नेपाली कांग्रेस का शम्भु बहादुर बुढाथोकी तथा जनता समाजवादी पार्टी नेपाल का रामबाबु प्रसाद यादवले बैंक खाता सञ्चालनमा ल्याएका छन्।
निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टी का रमेश प्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादव, नेपाल मजदुर किसान पार्टी का चन्दन कुमार यादव र नेकपा एमालेका बलबिर प्रसाद चौधरीले खाता खोलेका छन्।
निर्वाचन क्षेत्र नं. ३ मा नेपाल मजदुर किसान पार्टीका रामएकबाल राउत, नेपाली कांग्रेसका फरमुल्लाह मंसुर, नेकपा एमालेकी ज्वाला कुमारी साह र राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साहले बैंक खाता सञ्चालन गरेका छन्।
सबैभन्दा धेरै उम्मेदवारले खाता खोलेको निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका श्यामबाबु गुप्ता, राष्ट्रिय प्रजातन्त्र पार्टी का दिलिप कुमार शर्मा नेपाल, नेकपा एमालेका कृष्ण कुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारीसहित विभिन्न स्वतन्त्र उम्मेदवारहरूले बैंक खाता सञ्चालनमा ल्याएका छन्।
निर्वाचन निकायका अधिकारीहरूका अनुसार बैंक खाता नखोली खर्च गर्ने उम्मेदवारमाथि आवश्यक कारबाही हुन सक्ने प्रावधान रहेको छ। यसले चुनावी खर्च नियन्त्रण र स्वच्छ निर्वाचन अभ्यासलाई बल पुर्याउने विश्वास लिइएको छ।
बारा जिल्लामा उम्मेदवारको संख्या धेरै भए पनि बैंक खाता सञ्चालनको गति सुस्त देखिएकाले निर्वाचनको पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ। बाँकी उम्मेदवारले समयमै कानुनी प्रक्रिया पूरा गर्ने कि नगर्ने भन्ने विषय चासोको रूपमा हेरिएको छ।



