
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरमा घरायसी विवादका क्रममा श्रीमानले धारिलो हतियार छुरा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन्। घटनापछि फरार रहेका आरोपी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत कात्तिक १७ गते राति करिब १०ः३० बजे कञ्चनपुर निवासी २५ वर्षीया गुल्सान अंसारीलाई उनका श्रीमान् २८ वर्षीय अलियास अंसारीले ससुराली घरनजिकै रहेको आँपबारीमा बोलाएर कुराकानी गर्ने क्रममा घरायसी विवाद भएपछि पेटलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी गुल्सानलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि वीरगञ्ज हेल्थकेयरमा पुर्याइएकोमा शल्यक्रिया गरी सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना लगत्तै फरार भएका आरोपी अलियासलाई प्रहरीले खोजतलास गर्ने क्रममा मंसिर १९ गते दिउँसो करिब १ बजे पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्कको एक होटलबाट पक्राउ गरेको हो।



