राष्ट्रियसमाचार

भ्रामक समाचार र अपुष्ट टिप्पणीबाट भ्रम सिर्जना नगर्न नेपाल प्रहरीको आग्रह ।

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने र सुरक्षा निकायप्रतिको विश्वास कमजोर हुन सक्ने जनाएको छ ।

प्रहरीले यस्ता अपुष्ट, भ्रामक तथा स्वार्थकेन्द्रित सूचनाको पछाडि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ । साथै, नागरिकको सुरक्षासँग सम्बन्धित संवेदनशील विषयमा तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ।

विज्ञप्तिमा सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

नेपाल प्रहरीले आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै कुनै पनि प्रकारको भ्रामक प्रचार, अनावश्यक दबाब तथा गैरकानुनी गतिविधिबाट विचलित नभई व्यावसायिक मर्यादा र उच्च मनोबलका साथ काम गरिरहेको जनाएको छ ।

साथै, प्रहरी संगठनको प्रतिष्ठा र कार्यसम्पादनमाथि भ्रम सिर्जना गरी संगठनलाई कमजोर बनाउने प्रयास नगर्न र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी नायव महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकलाई प्रमाणित, आधिकारिक र तथ्यमा आधारित समाचार तथा सूचनालाई  विश्वास गर्न र भ्रामक सामग्रीको अनावश्यक प्रसार नगर्नसमेत अनुरोध गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button