राष्ट्रियसमाचारस्थानीय

बाराको पथलैयामा घर नजिकै अचेत अवस्थामा फेला परेका थापाको मृत्यु, अनुसन्धान जारी

पथलैया (बारा) : बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित १ नम्बर पुल नजिकै अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा पथलैया बस्ने ५४ वर्षीय राम थापा रहेका छन्।

​प्रहरीका अनुसार स्थानीय जनक बहादुर थापाका छोरा ५४ वर्षीय राम थापा सोमबार (असोज ५ गते) साँझ करिब ६:०० बजे आफ्नै घरभन्दा करिब १०० मिटर पूर्वतर्फ अचेत अवस्थामा लडिरहेको फेला परेका थिए। परिवार तथा आफन्तले निजलाई अचेत देखेपछि लगत्तै साँझ ६:४० बजे प्रहरी चौकी पथलैया बारामा खबर गरेका थिए।

​घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी पथलैयाबाट प्रहरी नायव निरीक्षक (प्रनानि) युवराज दाहालको कमाण्डमा तत्काल प्रहरी टोली खटिएर घटनास्थल पुगेको थियो। प्रहरी टोलीले अचेत अवस्थामा रहेका थापाको उद्धार गरी उपचारका लागि सिमरा नगर अस्पताल लगेको थियो।

​उद्धार गरिएका थापाको शरीरमा बाहिरी रूपमा कुनै चोटपटक वा घाउ नदेखिएको प्रहरीले जनाएको छ। अस्पताल पुर्‍याइएका थापालाई जाँचपछि साँझ ६:५० बजे डाक्टरले मृत घोषणा गरेका थिए।

​हाल मृतक थापाको शव परीक्षण (पोष्टमार्टम) तथा अन्य प्रक्रियाका लागि सोही अस्पतालमै राखिएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी नायव उपरीक्षक (प्रनाउ) दयाकृष्ण भट्टको कमाण्डमा घटनास्थल अपराध अनुसन्धान टोली (SOCO) सहितको टोली खटिएर घटनास्थल मुचुल्का तयार पारेको छ।

​घटनाको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button