
काठमाडौं, साउन १८ — नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा समायोजन गर्दै पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ। निगमले नयाँ मूल्य २०८३ साउन १८ गते बिहान १:०१ बजेदेखि लागू हुने जनाएको छ।
निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेशन (आईओसी)बाट ३१ जुलाई २०२६ मा प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य संशोधन गर्नुपरेको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पहिलो वर्गका जिल्लामा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ। यसअघि क्रमशः १९४ रुपैयाँ ५० पैसा, १९६ रुपैयाँ र १९७ रुपैयाँ रहेको थियो।
त्यस्तै, डिजेल/मट्टितेल पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। यसअघि यसको मूल्य क्रमशः १९४ रुपैयाँ ५० पैसा, १९६ रुपैयाँ र १९७ रुपैयाँ थियो।
निगमका अनुसार आन्तरिक हवाई इन्धनको मूल्यमा कुनै परिवर्तन गरिएको छैन भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि नयाँ बिक्री मूल्य कायम गरिएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेक–इभेन बिन्दुमा मूल्य यथावत् राखिएको विज्ञप्तिमा उल्लेख छ।




