राष्ट्रियसमाचार

संयुक्त हिन्दु मोर्चाद्वारा सरकारसमक्ष १३ बुँदे मागपत्र, आन्दोलनका कार्यक्रम स्थगित

जनकपुरधाम, साउन १७ – संयुक्त हिन्दु मोर्चाले नेपाल सरकारसमक्ष १३ बुँदे मागपत्र पेश गर्दै धार्मिक सद्भाव, सामाजिक शान्ति, कानुनी शासन तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ।

शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृह मन्त्रालयलाई बुझाइएको मागपत्रमा नेपाललाई हिन्दु राष्ट्रका रूपमा पुनःस्थापना गर्ने विषयमा सर्वदलीय छलफल अघि बढाउन सरकारसँग माग गरिएको छ। मोर्चाले नेपाल हिन्दु बहुल राष्ट्र भएकाले यस विषयमा स्पष्ट समयसीमा तोकी आवश्यक राजनीतिक संवाद सुरु गर्नुपर्ने उल्लेख गरेको छ।
मागपत्रमा कुनै पनि धर्म, सम्प्रदाय वा समुदायले मनाउने चाडपर्व तथा धार्मिक कार्यक्रममा हतियार प्रदर्शन गर्न रोक लगाउन र त्यसो गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

त्यस्तै, मठ, मन्दिर, मस्जिद, मदरसा, गुम्बा तथा चर्चलगायत धार्मिक स्थलमा जडान गरिएका बाहिरी ध्वनि विस्तारक (लाउडस्पिकर) को प्रयोगलाई नियमन गरी आवश्यक धार्मिक गतिविधिमा मात्र सीमित ध्वनि प्रयोगको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ। संयुक्त हिन्दु मोर्चाले धार्मिक स्थलमा बसोबास गर्ने सबै व्यक्तिको अभिलेखीकरण  पहिचान खुलाउने व्यवस्था तथा विदेशी नागरिक भए सम्बन्धित निकायमार्फत निगरानी र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

मागपत्रमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक, साम्प्रदायिक तथा जातीय द्वेष, हिंसा, चरित्रहत्या वा अतिवादी विचार फैलाउने व्यक्तिको पहिचान गरी कानुनअनुसार कारबाही गर्न सरकारसँग आग्रह गरिएको छ।
सुनसरीको देवानगञ्ज घटनापछि आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिमाथिका मुद्दाको पुनरावलोकन गरी आवश्यक निर्णय लिन तथा कानुनी प्रक्रियाअनुसार रिहा गर्नुपर्ने माग पनि मोर्चाले अघि सारेको छ। आन्दोलनका क्रममा घाइते भएकाको उपचार तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्न र आन्दोलनमा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ

मागपत्रमा २०६३ सालदेखि हालसम्म प्रदान गरिएका नेपाली नागरिकताको छानबिन गरी विदेशी नागरिकका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख छ। साथै मदरसा, मस्जिद तथा अन्य धार्मिक संस्थामा हुने विभिन्न प्रकारका आर्थिक स्रोत र फन्डिङको छानबिन, अनुगमन तथा आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ।

यसैगरी, १२ वर्षीय आनन्द दासको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ।
संयुक्त हिन्दु मोर्चाले आन्दोलनका सबै कार्यक्रम तत्काल स्थगित गर्ने निर्णयसमेत गरेको जनाएको छ। मागपत्र बुझदै नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङलेले मागको बारेमा सदनमा छलफल अगाडि बढाउने बताए। मागपत्रमा मोर्चाका  विभिन्न पदाधिकारी तथा प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button