
कलैया, साउन १६ — हालै सुनसरीमा भएको घटनापछि देशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै बारा जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले शनिबार कलैयामा बृहत् सामाजिक सद्भाव र्याली आयोजना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट बिहान करिब ८ बजे सुरु भएको र्याली प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको अध्यक्षतामा निकालिएको हो। र्यालीमा जिल्लाभरका विभिन्न धार्मिक संघ–संस्थाका अगुवा तथा प्रतिनिधि, विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने धर्मावलम्बी, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला निकाय, अधिकारकर्मी, सञ्चारकर्मी, टोल विकास संस्थाका प्रतिनिधि, गैरसरकारी संस्थाका पदाधिकारी, नागरिक समाज, सुरक्षा निकाय, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीसहित सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार र्यालीमा करिब ३५० देखि ४०० जना सहभागी भएका थिए। जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको र्यालीले कलैया बजार क्षेत्रको परिक्रमा गर्दै सामाजिक एकता, धार्मिक सद्भाव र शान्तिको सन्देश प्रवाह गरेको थियो।

र्यालीको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा प्रदेश ट्राफिक प्रहरीको संयुक्त परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा ५० जना नेपाल प्रहरी, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको कमाण्डमा २० जना सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख गिरीराज गौतमको कमाण्डमा १० जना सैनिक तथा प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतको कमाण्डमा १५ जना ट्राफिक प्रहरी गरी कुल ९५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी सम्मान र राष्ट्रिय एकतालाई कायम राख्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै कुनै पनि अफवाह, उक्साहट वा विभाजनकारी गतिविधिबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका थिए।

जिल्ला प्रशासन कार्यालय बाराले सबै समुदायबीच आपसी विश्वास, मेलमिलाप र सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।



