प्रदेश खबरराष्ट्रियसमाचार

असार महिनाका ‘बेस्ट पुलिस अफ द मन्थ’ प्रहरी सहायक निरीक्षक अजय कुमार कुर्मी घोषित, उत्कृष्ट कार्य गर्ने तीन प्रहरी कर्मचारी पुरस्कृत

धादिङ –  जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ। अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग सुरक्षा तथा विपद् व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएका प्रहरी कर्मचारीहरूलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

यसअन्तर्गत प्रहरी चौकी जोगिमारा, धादिङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अजय कुमार कुर्मी असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्। उनले लागूऔषध नियन्त्रण, अवैध सामान बरामद, राजमार्ग सुरक्षा तथा विपद् व्यवस्थापनमा देखाएको सक्रियता र प्रभावकारी कार्यसम्पादनका आधारमा उक्त सम्मान प्राप्त गरेका हुन्।

प्रहरीका अनुसार मिति २०८३ साल असार २३ गते बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारा स्थित पृथ्वी राजमार्गमा नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा असई कुर्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइडका ७८ हजार ४ सय क्याप्सुल सहित दुई जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको थियो। उक्त कारबाहीलाई असार महिनाको महत्वपूर्ण सफलता मानिएको छ।

त्यसैगरी असार १५ गते सोही प्रहरी टोलीले करिब रु. ९० हजार बराबरका भ्याट बिलविहीन Wi-Fi Router तथा Adapter लगायतका विद्युतीय सामग्री नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाएको थियो। अवैध रूपमा ओसारपसार गरिएका सामान नियन्त्रणमा लिई राजस्व चुहावट रोक्नसमेत उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यति मात्र नभई असार महिनाभर जवाङखोला क्षेत्रमा पटक–पटक पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको अवस्थामा असई कुर्मीले प्रहरी टोली परिचालन गरी पहिरो पन्छाउने, सडक खुलाउने, यात्रु तथा सवारी साधनको सुरक्षित व्यवस्थापन गर्ने, ट्राफिक व्यवस्थापन मिलाउने तथा विपद्को समयमा सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। विपद्को कठिन परिस्थितिमा समेत निरन्तर खटिएर जनधनको सुरक्षा र राजमार्ग सञ्चालनलाई सहज बनाउन उनले गरेको योगदानको उच्च मूल्यांकन गर्दै ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यसैगरी उत्कृष्ट कार्यसम्पादन गरेका अन्य दुई जना प्रहरी कर्मचारीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी हवल्दार नगेन्द्र महतो ले कार्यालयको दैनिक कार्यसम्पादनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन खेलेको सक्रिय भूमिकाको कदर गर्दै नगद पुरस्कार प्रदान गरिएको हो। कार्यालयीय जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरी प्रहरी संगठनको कार्यक्षमता अभिवृद्धिमा योगदान पुर्‍याएको मूल्यांकन गरिएको छ।

त्यस्तै प्रहरी चौकी मलेखु, धादिङमा कार्यरत प्रहरी हवल्दार राजेश कुमार लामा तामाङ ले Gen-Z आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका लागूऔषध मुद्दाका दुई जना प्रतिवादीलाई मिति २०८३ असार १५ र १६ गते पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा सुरक्षित बुझाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। फरार प्रतिवादीलाई छोटो समयमै पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन सफल भएको भन्दै उनलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नियमित रूपमा सम्मान गर्ने परम्पराले प्रहरी संगठनभित्र प्रतिस्पर्धात्मक कार्यसंस्कृति, जिम्मेवारीबोध र सेवाप्रतिको समर्पण भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ। कार्यालयका अनुसार अपराध नियन्त्रण, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अनुसन्धान तथा जनसेवामा उल्लेखनीय योगदान पुर्‍याउने प्रहरी कर्मचारीलाई आगामी दिनमा पनि यस्तै सम्मान र प्रोत्साहन प्रदान गरिनेछ।
प्रहरी संगठनले उत्कृष्ट कार्य गर्ने कर्मचारीको सार्वजनिक रूपमा सम्मान गर्दा अन्य प्रहरी कर्मचारीलाई पनि थप जिम्मेवार, सक्रिय र जनमुखी सेवा प्रवाह गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, राजमार्ग सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा प्रभावकारी रूपमा काम गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button