राष्ट्रियसमाचार

अतिक्रमित क्षेत्रमा रोपियो टिकको बिरुवा 

प्रेमचन्द्र झा

साउन ०८ गते
रौतहट । रौतहटको गुजरा नगरपालिका–३ बलुवास्थित अन्जुमन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरी धान खेती गरिएको क्षेत्रबाट अतिक्रमण हटाइएको छ।

डिभिजन वन कार्यालयका अनुसार करिब एक महिनाअघि अतिक्रमणकारीहरूले सामुदायिक वनको करिब २ बिघा क्षेत्र खनजोत गरी धान रोपेका थिए। वन संरक्षणका लागि मिति २०८३ साउन ८ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा सशस्त्र प्रहरी बलको जिल्ला नेतृत्वको समन्वय र सहयोगमा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको हो।

डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरको नेतृत्व तथा अग्रसरतामा वन कर्मचारी र जङ्गलसहिया सशस्त्र प्रहरी बेसबाट खटिएको संयुक्त टोलीले अतिक्रमित क्षेत्रमा रोपिएको धान नष्ट गरी वन क्षेत्र पुनः संरक्षणको प्रक्रियाअन्तर्गत टिक (सागवान) जातका बिरुवा रोपण गरेको जनाएको छ।

वन कार्यालयले सामुदायिक वन क्षेत्रको अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै वन संरक्षणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ। साथै, वन अतिक्रमण तथा प्राकृतिक स्रोतको अवैध उपयोग नगर्न सबैलाई आग्रह गर्दै कानुन विपरीतका गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button