
कलैया, साउन ८ — जिल्ला प्रहरी कार्यालय बाराले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले लागू गरिएको “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३” अन्तर्गत २०८३ साल असार महिनाको “बेस्ट पुलिस अफ द मन्थ (Best Police of the Month)” का रूपमा प्रहरी हवल्दार सुजित राउतलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर र प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले शुक्रबार संयुक्त रूपमा पुरस्कार वितरण आयोजित कार्यक्रममा प्रहरी हवल्दार सुजित राउतलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
प्रहरी हवल्दार राउतको दरबन्दी इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा रहे पनि हाल उहाँ इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा कार्यरत हुनुहुन्छ। सेवा अवधिमा देखाएको इमानदारी, अनुशासन, कर्तव्यनिष्ठा, जिम्मेवारीपूर्ण कार्यसम्पादन तथा शान्ति–सुरक्षा कायम गर्न पुर्याएको उल्लेखनीय योगदानका आधारमा उहाँलाई असार महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरी उपरीक्षक कुँवरले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्पराले संगठनभित्र स्वस्थ प्रतिस्पर्धा, उच्च मनोबल तथा सेवाप्रतिको जिम्मेवारी भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि जनताको सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउन सबै प्रहरी कर्मचारीलाई इमानदार, पारदर्शी र उत्तरदायी ढंगले काम गर्न आग्रह गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय बाराले प्रत्येक महिना कार्यसम्पादन, अनुशासन, व्यावसायिक दक्षता, सेवाभाव, नेतृत्व क्षमता तथा संगठनप्रतिको समर्पणलगायतका विभिन्न सूचकका आधारमा उत्कृष्ट प्रहरी छनोट गर्दै सम्मान गर्ने व्यवस्था कार्यान्वयन गर्दै आएको जनाएको छ।
उक्त सम्मानबाट प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई थप उत्साह मिल्ने, सेवाप्रवाह अझ प्रभावकारी बन्ने तथा नागरिकमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले पनि सम्मानित प्रहरी हवल्दार सुजित राउतलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गरेका थिए।



