राष्ट्रियसमाचार

ठोरीका दुई होटलमा छापा, ९ जना प्रहरीको नियन्त्रणमा :- गृहमन्त्री स्वयम उपस्थित 

पर्सा / ठोरी – गृहमन्त्री सुदन गुरुङकै उपस्थितिमा पर्साको ठोरी गाउँपालिका–२ स्थित दुई होटलमा शुक्रबार राति छापा मारिएपछि राजनीतिक तथा सुरक्षा क्षेत्रमा व्यापक चर्चा सुरु भएको छ। छापामार कारबाहीका क्रममा सात युवती र दुई होटल सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिइएकोछ। तर पक्राउको कानुनी आधार र गृहमन्त्रीको प्रत्यक्ष संलग्नतामाथि प्रश्न उठ्न थालेको छ।

स्रोतको प्राप्त जानकारीअनुसार मिटरब्याज पीडितसँग बाराको सिमरामा छलफल सकेर चितवनतर्फ जाने क्रममा गृहमन्त्री गुरुङ ठोरी पुगेका थिए। स्थानीयले ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर होटल’मा अनैतिक गतिविधि हुने गरेको गुनासो गरेपछि गृहमन्त्रीको निर्देशनमा सुरक्षाकर्मीले राति करिब ९:३० बजे दुवै होटलमा छापा मारेका थिए।

छापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नम्बर–१३ गण तथा बोर्डर आउट पोस्ट (बीओपी) ठोरीको संयुक्त टोली सहभागी भएको थियो। कारबाहीका क्रममा होटल सञ्चालक, कर्मचारी तथा पाहुनासहित नौ जनालाई इलाका प्रहरी कार्यालय ठोरीमा लगिएको छ। पक्राउ परेकामध्ये सात जना युवती रहेका छन्।

सुरक्षा स्रोतका अनुसार छापा मार्नुअघि प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिप राज पाठकलाई औपचारिक जानकारी नगराइएको तथा कारबाही सम्पन्न भएपछि मात्र घटनाबारे जानकारी गराइएको बुझिएको छ।

घटनापछि गृहमन्त्रीको प्रत्यक्ष उपस्थितिमा प्रहरी अपरेसन सञ्चालन गरिएको विषयले सुरक्षा विज्ञहरूको ध्यान खिचेको छ। केही पूर्व सुरक्षा अधिकारीहरूले नीतिगत नेतृत्व गर्ने मन्त्री प्रत्यक्ष छापामार कारबाहीमा संलग्न हुनु उचित अभ्यास नभएको टिप्पणी गरेका छन्। यस्तै, पक्राउ परेका व्यक्तिहरूलाई कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा पनि कानुन व्यवसायीहरूले स्पष्टता आवश्यक रहेको बताएका छन्।

यद्यपि, प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएको छ। घटनाबारे जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबाट विस्तृत आधिकारिक विवरण आउन बाँकी रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button